असोज, २४ काठमाडौं । सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसीको जिवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघल आन्दोलन गर्ने भएको छ ।
केसीको सत्याग्रह आज २७ औं दिन पुग्दा समेत मागका विषयमा वार्ता र सम्बादलाई औपचारीकता मात्र दिएको भन्दै आन्दोलनको घोषणा गरेको हो । स्वास्थ्य शिक्षामा सुधारसम्बन्धी विभिन्न मागसहित डा.केसी अनसनमा छन् ।
सरकारी वार्ता टोलीले डा.केसीलाई अनसन तोड्न आग्रह गरेको छ। केसी पक्षले भने बिहीबार भएको वार्तामा भएको सहमतिको मस्यौदाबाट सरकार पछि हटेको आरोप लगाएको छ।
यसैबीच, केसीसँगको वार्ताबाट सरकार पछि हटेपछि चिकित्सकहरुले भोलि (आइतबार) बाट आकस्मिक र कोभिडबाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन्।
असोज २२ गते बिहीबार सरकार र केसी पक्षबीचको वार्ता सकारात्मक रुपमा अगाडी बढेकाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको नेपाल चिकित्सक संघले एक विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ ।
२५ गते आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।
संघले घोषणा गरेको विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने विज्ञप्तीमा भनिएको छ ।








