असोज २५, काठमाडौं ।
चाडपर्व नजिकिएसँगै राजधानीको बजारमा तरकारीको भाउ आकाशिएको छ । धेरै उपभोग हुने तरकारी ‘थ्रि डिजिट’मा पुगेका छन् ।
कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।
यस वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको घिमिरे तर्क गर्छन् । लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महँगो भएको व्यवसायीको भनाइ छ ।
तर चाडबाडका बेला मनोमानी भाउ बढाइएको उपभोक्ता गुनासो गर्छन् । अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै घिमिरे भन्छन्, ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन । अब विस्तारै उपत्यकाका टनेलका उत्पादन आउन थाल्छन् । तराईबाट पनि उत्पादन आउन थाल्छ, त्यसपछि मात्रै तरकारी सस्तो हुन्छ ।’
कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ । एक सातायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको छ । केही साताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो सातादेखि फेरि यसको मूल्य उकालो लागेको छ ।
यो वर्ष आलु पनि चरम महँगो भएको छ । अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ । रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ । भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ । मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ ।
बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ । स्थानीय काउलीको थोक मूल्य किलोमा एक सय २० रुपैयाँ भन्दा बढी छ ।
यो साता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ । करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा डेढ सय रुपैयाँ नाघेको छ । तने बोडी पनि करिब १५ प्रतिशत महँगो भएर थोक बजारमै किलोमा एक सय ५५ रुपैयाँ पर्न थालेको छ ।
लोकल घिउसिमी एक साताअघि थोक बजारमा ७० रुपैयाँमा बिक्री भइरहेको थियो, अहिले बढेर एक सयको हाराहारी पुगेको छ । हाइब्रिड घिउसिमी पनि ८० रुपैयाँबाट एक सय १५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ ।
भटमास कोसाको प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा थोक मूल्य छ । एकहप्ताअघि ७० रुपैयाँमा पाइने तितेकरेला थोक बजारमै प्रतिकिलो एक सय पाँच रुपैयाँ पुगेको छ ।
लौकाको मूल्य एक हप्तामा २० प्रतिशत बढेको छ । एक हप्ताअघि थोकमा ६० रुपैयाँमा पाइने लौकाको मूल्य ७५ रुपैयाँ पर्छ । खुद्रामा पुग्दा प्रतिकिलो एक सय रुपैयाँ नाघेको छ ।
परबरको मूल्य पनि थोकमै एक सय पाँच रुपैयाँ पुगेको छ । घिरौला थोक बजारमै प्रतिकिलो एक सय १५ रुपैयाँभन्दा माथि छ । एक साताअघिसम्म घिरांैला ८५ रुपैयाँमा पाइन्थ्यो ।
झिँगुनीको मूल्य पनि ८० रुपैयाँभन्दा माथि छ । एक हप्ताअघि ९८ रुपैयाँ प्रतिकिलोमा पाइने भिन्डीलाई अहिले थोकमै एक सय १५ रुपैयाँ तिर्नुपर्छ ।
रायो, पालुंगो र चम्सुरको साग थोक बजारमा प्रतिकिलो १०० रुपैयाँ पर्छ । तोरीको सागको मूल्य पनि बढेर ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
डल्ले र कन्य च्याऊ १५ देखि २० प्रतिशत महँगो भएको छ । एक साताअघि थोकमा एक सय ४५ रुपैयाँमा कारोबार भएको कन्य च्याउ अहिले प्रतिकिलो एक सय ८५ रुपैयाँ पुगेको छ । डल्ले च्याउ तीन सय ५५ बाट चार सय १० रुपैयाँ प्रतिकिलोमा पुगेको छ ।
निगुरो र गान्टे मुला थोकबजारमै किलोमा ९५ रुपैयाँ पर्न थालेको छ । पिँडालु प्रतिकिलो ६० रुपैयाँ पर्छ । कागती प्रतिकिलो १३५ बाट बढेर १५५ रुपैयाँमा पुगेको छ ।
भेडे खुर्सानी किलोको १५५ रुपैयाँ पर्छ । हरियो लसुनको मूल्य प्रतिकिलो २४५ रुपैयाँ छ । हरियो प्याजको मूल्य प्रतिकिलो १४५ रुपैयाँ छ । भारतीय सुकेको प्याजको थोक मूल्य किलोमा ११० रुपैयाँभन्दा माथि छ । हरियो धनियाँ एक हप्ताअघि ४२५ रुपैयाँ थियो, अहिले बढेर प्रतिकिलो ४५५ रुपैयाँ पुगेको छ ।
यी हुन् सस्ता तरकारी
गाजर, इस्कुस जस्ता कम प्रयोग हुने तरकारी बाहेक सबैको मूल्य सय रूपैयाँ प्रतिकिलो र त्यसभन्दा बढी पुगेको छ । अहिले इस्कुस अरुभन्दा सस्तो छ । स्कुसको थोक मूल्य प्रतिकिलो २८ रुपैयाँ छ । तर, यो मूल्य पनि एक हप्ताको बीचमा ५६ प्रतिशतले बढेको हो । एक हप्ताअघि स्कुस १८ रुपैयाँमै किन्न पाइन्थ्यो ।
पाकेको फर्सीको मूल्य पनि तुलनात्मक रूपले कम छ । यो ३८ रुपैयाँ प्रतिकिलोमा किन्न पाइन्छ । सेतो मुलाको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ हाराहारी छ ।
यो हप्ता गाजरको मूल्य भने अत्यधिक घटेको छ । एक हप्ताअघि ११५ रुपैयाँ प्रतिकिलो रहेको गाजर अहिले किलोमा ६० रुपैयाँमा झरेको छ ।
खुद्रामा मनलाग्दी भाउ
थोक बजारमै तरकारी छोइनसक्नु भएपछि खुद्रा बजारमा झण्डै यसको आधाभन्दा बढी मूल्य जोडेर बेचिँदैछ । थोकमा ६० रुपैयाँमा किनिएको गोलभेडा खुद्रामा एक सय रुपैयाँ माथि मूल्य राखेर बेचिँदैछ ।
तरकारीमा उच्च नाफाखोरी भइरहँदा पनि सरकारले प्रभावकारी बजार अनुगमन गर्न सकेको छैन । कृषकबाट बजारसम्म आउँदा दोब्बर बढेको तरकारीको मूल्य उपभोक्ताको भान्छासम्म पुग्दा तेब्बरसम्म बढ्ने गरेको छ ।
विभिन्न तहका बिचौलियाले तरकारीको मूल्य आफ्नो नाफा अनुकुल हुने गरी बढाउने गरेका छन् । बजारमा जति मूल्य परे पनि चुपचाप किन्नुपर्ने उपभोक्ताको बाध्यताको फाइदा बिचौलिया र व्यापारीहरुले उठाउँदैछन् ।
बजारमा हुने आपूर्तिका आधारमा तरकारीको दर घटबढ हुने गरेको छ । तर, अहिले तरकारीको मूल्य किन बढ्यो भन्ने भरपर्दो कारण ब्यापारीहरुले पनि दिन सकेका छैनन् । अहिले आपूर्ति व्यवस्था सहज भएकाले ब्यापारीले उत्पादनको अभावलाई कारण देखाएका छन् ।
उत्पादन घटेको दाबी
तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष घिमिरेको भनाइ मान्ने हो भने यो वर्ष नेपालमा तरकारी उत्पादन ३० देखि ४० प्रतिशत घटेको छ ।
लकडाउनका बेला (चैत, बैशाख र जेठ) मा लागतभन्दा कममा पनि नबिकेर तरकारी खाल्डोमा हाल्न बाध्य भएपछि कृषकले तरकारीको उत्पादनमा जोड नदिएको घिमिरेको भनाइ छ ।
‘यो सिजनका लागि प्रायः बेमौसमी तरकारी आउनुपथ्र्यो, त्यसका लागि कृषकले हाइब्रिड बीउबिजन पाउनुपथ्र्यो,’ घिमिरे भन्छन्, ‘जापानबाट आउने त्यस्ता बीउ यो वर्ष लकडाउनका कारण कृषकले पाउन सकेनन्, त्यसको असर पनि अहिले देखिएको छ ।’
उनका अनुसार उत्पादन बढाउन युरिया मल पनि तरकारीमा हाल्ने गरिएको तथ्य लुकेको छैन । तर, यो वर्ष मल पनि किसानले पर्याप्त पाएनन् ।
‘काउली, बन्दा, साग सिमी, भिण्डी, करेला, काँक्रो बरेला, साग, गोलभेडाजस्ता तरकारी अहिले किसानसँग पर्याप्त उत्पादन भएको छैन,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष घिमिरेले भने, ‘गोलभेडाको मूल्य उच्च भएपछि भारतबाटै आउन थालेको छ ।’







