बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर । पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ पर्यटन मार्ट २०८३’ सुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजनामा सुरु भएको यस मार्टमा गण्डकी प्रदेशका २९ वटा सामुदायिक घरवास (होमस्टे) का सञ्चालक आफ्ना मौलिक पहिचानसहित सहभागी छन् ।

मार्टमा मुस्ताङको स्याङखोला थकाली होमस्टेदेखि नवलपुरको पिप्रहर सामुदायिक होमस्टेसम्मका सञ्चालकहरूले आफ्नो गाउँको प्रकृति र संस्कृतिको प्रचार गरिरहेका छन् । मुस्ताङबाट आएकी रुपना थकाली आफ्नो होमस्टेको सिमी, जिम्बु र टिमुरको छोपबारे आगन्तुकलाई जानकारी गराउन व्यस्त देखिन्थिन् । यस्तै, नवलपुरका डोलबहादुर महतोले आफ्नो होमस्टेको विशेषता सुनाउँदै भने, “हाम्रोमा जङ्गल सफारी गर्दा गैँडा देखिएन भने पूरै पैसा फिर्ता दिने ग्यारेन्टी छ ।”

मार्टमा होमस्टेका कोठा र सेवाको मात्र चर्चा छैन, स्थानीय उत्पादनको बिक्री पनि उत्तिकै छ । पर्वतको कुश्मा सामुदायिक होमस्टेकी सञ्चालक राधिका अधिकारी पाध्याले आफूले ल्याएको छुर्पी, कुराउनी, पुष्टकारी र घ्यु क्षणभरमै बिक्री भएको सुनाइन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गाउँ पर्यटनले आम्दानी मात्र नभई परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणमा समेत सघाउने बताए । बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार यस मार्टले होमस्टे सञ्चालकहरूबीच व्यावसायिक साझेदारी बढाउन र पर्यटनको विकेन्द्रीकरण गर्न मद्दत पुग्नेछ ।

मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले होमस्टेका माध्यमबाट गाउँको मौलिकता जोगाउँदै आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखिन् । सन् २०२५ मा मात्रै ६ लाख २५ हजार पर्यटक भित्रिएको बन्दीपुरले यस्ता कार्यक्रममार्फत समुदायमा आधारित पर्यटनलाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको सहकार्यमा भएको यो चौथो संस्करणको मार्ट हो । पाँचौँ संस्करण आगामी वर्ष गोरखामा आयोजना गरिने जानकारी दिइएको छ ।