सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमसहित अनुदान कार्यक्रम सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित समुदायलाई बाख्रा तथा कुखुरापालनसम्बन्धी सातदिने तालिम दिन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार तालिममार्फत सहभागीलाई सीपयुक्त बनाउँदै आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ ।

‘विज्ञ प्रशिक्षकमार्फत तालिम प्रदान गरी दलित समुदायको आयआर्जन वृद्धि गर्ने र आर्थिक अवस्था उकास्ने उद्देश्य छ’, उनले भने, ‘कार्यक्रमले आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

वडा कार्यालयमार्फत अतिविपन्न दलित परिवार छनोट गरी तालिम प्रदान भइरहेको छ ।

‘सानो पुँजीबाट पनि व्यावसायिक काम सुरु गरेर जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण समाजमा थुप्रै छन्’, प्रमुख बुढाले भने,’यस कार्यक्रमले समुदायको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने विश्वास छ ।’

तालिममा सहभागीहरूलाई तालिमपश्चात बैंक खातामार्फत जनही रु २५ हजारका दरले अनुदान रकम उपलब्ध गराउने योजना रहेको उनले बताए। नगर उपप्रमुख कल्पना पन्तले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र अनुदान रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

‘अनुदान रकमको सही प्रयोग भए–नभएकोबारे नियमित अनुगमन गरिनेछ’, उनले भने।

वडाध्यक्ष लालबहादुर ऐरले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरणा दिने उल्लेख गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा सहभागी टेकबहादुर सार्कीले रोजगारीको अभावका कारण युवाहरू भारततर्फ जानुपर्ने बाध्यता रहेको उल्लेख गरे।

‘घर बासका लागि मात्रै जग्गा छ, स्थानीयस्तरमा रोजगारी नपाउँदा भारत जानुनै एक मात्रै विकल्प छ’, उनले भने, ‘गत वर्ष बस्तीका बासिन्दाले आवास पायौँ, यस वर्ष तालिम लिदैछौं र अनुदान उपलब्ध गराउने कुरो छ, यसले स्वरोजगार र आत्मनिर्भर बन्न मद्दत गर्नेछ ।’

गत वर्ष सिमलखेतका अति विपन्न ११ दलित परिवारका लागि प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको थियो ।