घाटामा चलेका झन्डै १७ सय फर्म बन्द

असोज २५, वीरगञ्ज ।
जिल्लामा झन्डै १७ सय फर्महरू बन्द छन् । पुराना एक हजार ६ सय ९३ वटा फर्म बन्द भएको आन्तरिक राजश्व कार्यालय वीरगञ्जले जनाएको छ ।

कार्यालयका अनुसार घाटा लागेर व्यवसाय नै सञ्चालन गर्न नसक्ने भन्दै व्यवसायीले धमाधम फर्म बन्द गराएका हुन् । कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोका अनुसार नयाँ दर्ताको अवस्था निराश हुनुपर्ने नभए पनि पुराना फर्म धमाधम बन्द हुनुले व्यवसायिक कारोबारको संरचना फेरिएको देखाएको छ ।

‘गत आर्थिक वर्ष २०७६÷७७ मा १६ भ्याटतर्फ एक हजार ४० र आयकरतर्फ ६ सय ५३ जना करदाताले व्यवसायमा घाटा लाग्यो भनेर फर्म बन्द गराएका छन्,’ उनले भने, ’नयाँ फर्म दर्ताका तुलनामा व्यक्तिगत प्यान लिनेहरू बढेका छन् ।’

आन्तरिक राजस्व कार्यालय वीरगंजमा चालु आवको साउन र भदौ महिनामा एक हजार तीन सय ६ वटा नयाँ फर्म थपिएका छन् । चालू आवको सोही अवधिमा भ्याटतर्फ ५२, डब्लुप्यान (सरकारी कार्यालय)तर्फ ६२, अन्तःशुल्कतर्फ ९, आयकरतर्फ १ सय ४५, व्यक्तिगत प्यानकार्डतर्फ १ हजार ३८ गरी १३ सय ६ जना नयाँ करदाता थपिएका हुन् ।

गत आवको असारसम्म पर्सामा भ्याटतर्फ ९ हजार २ सय ९०, डब्लुप्यानतर्फ १ सय ३६, अन्तःशुल्कतर्फ १ हजार ४ सय ४, आयकरतर्फ ३१ हजार ३ सय ५१ र व्यक्तिगत प्यानतर्फ ४८ हजार ७ सय ७९ जना करदाता रहेको तथ्यांक छ ।