१२ मा स्वास्थ्य समस्या देखिँदा १ सय ५५ यात्रु क्वारेन्टाइनमा

असोज २५, काठमाडौं ।
शनिबार नेपाल अवतरण गरेको एसियाना एयरलाइन्सका १ सय ५५ यात्रुलाई क्वारेन्टाइनमा राखिने भएको छ । १२ यात्रुको स्वास्थ्य मापदण्ड नेपालका लागि अयोग्य भएका कारण सबै यात्रुलाई क्वारेन्टाइनमा राखिएको हो ।

शनिबार कोरियाको एसियाना एयरलाइन्सले १ सय ५५ यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चार्टर फ्लाइटमार्फत यात्रु बोकेर आएको यो एयरलाइन्समा आएका मध्ये १२ जना यात्रुको पिसीआर परीक्षण रिर्पोट प्रोटोकल अनुसार अयोग्य भएपछि होटल क्वारेन्टाइनमा राख्न विमानस्थलले आग्रह गर्यो ।

पिसीआर प्रोटोकल अनुसार नभएपछि सबै एक सय ५५ यात्रुलाई नै होटल क्वारेन्टाइनमा सात दिन राख्नुपर्ने नियम छ । एसियानाको नेपालको आधिकारिक जेनरल सेल्स एजेन्ट्स गण्डकी ट्राभल हो ।

‘स्वास्थ्य प्रोटोकल अनुसार पिसीआर नभएपछि हामीले कोरियास्थित नेपाली दूतावासलाई पत्राचार गरेका छौँ । त्यहाँबाट आधिकारिता नआएसम्म होटल क्वारेन्टाइनमै राख्नुपर्छ,’ विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

स्रोतका अनुसार गण्डकीले प्रोटोकल अनुसारको पिसीआर रिर्पोट नभएपनि छाड्नका लागि दबाब दिएको थियो । ‘हाम्रो प्रोटोकल अनुसार नभएपनि छाड्न दबाब थियो । तर प्रोटोकल अनुसार होटल क्वारेन्टाइनमै राख्नुपर्ने प्रावधान भएकाले मान्ने कुरा भएन,’ विमानस्थलका एक कर्मचारीले भने ।