काठमाडौँमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन्: आज मौसम खुल्ने सम्भावना कम छ

काठमाडौँ –


काठमाडौँ उपत्यकामा आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ४ः४५ देखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको हो। 

‘अहिले पनि उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ’, उनले आज बिहान ७:४५ बजे नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ। 

‘निरन्तर वर्षा भइनरहे पनि बादल लाग्ने, पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिएको छ’, उनले भने। 

यतिबेला देशका अन्य स्थानमा पनि वर्षा भइरहेको छ। 

देशभर आज दिउँसो र राति कहाँ कत्रो वर्षा होला भन्ने विषयमा भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।