पाँच मिनेटको फरकमा दुई कोरोना संक्रमितको मृत्यु, २० संक्रमित गम्भीर

असोज २५, नेपालगञ्ज ।
बाँकेको भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको पाँच मिनेटको फरकमा गए राति मृत्यु भएको छ ।

मृतकमा नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ८ निवासी ७१ वर्षीया महिला छन् ।

उनीहरू दुवैको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ र महिलाको त्यसको पाँच मिनेटपछि १० बजे मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा ती पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआइ उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

यससहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० संक्रमित गम्भीर अवस्थामा छन् ।