काठमाडौँ – संघीय संसदमा सांसदहरूको उपस्थिति अभिलेखीकरण प्रणालीलाई डिजिटल बनाउन विद्युतीय हाजिरी व्यवस्था लागू गरिने भएको छ। यस प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन प्रक्रिया भोलिदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयले जारी गरेको जानकारीअनुसार बायोमेट्रिक विवरण संकलनका लागि सांसदहरूलाई तोकिएको समय तालिका र स्थानअनुसार उपस्थित हुन आग्रह गरिएको छ। विवरण संकलनका क्रममा औपचारिक फोटो समेत खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संसदको लोगो सहित उपस्थित हुन निर्देशन दिइएको छ।
समितिगत व्यवस्था अनुसार विवरण संकलनका लागि अलग–अलग समय निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई भोलि बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ।
त्यसैगरी अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूका लागि अर्थ समितिको हलमा विवरण संकलन गरिनेछ। उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सदस्यहरू तथा कानुन, न्याय र मानवअधिकार समितिका सदस्यहरूका लागि पनि भोलि नै दिउँसो छुट्टाछुट्टै समयमा तोकिएका हलमा उपस्थित हुन निर्देशन दिइएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूको विवरण पर्सि बिहान सार्वजनिक लेखा समितिको हलमा संकलन गरिनेछ। पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई पनि सोही दिन अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ।
त्यस्तै महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूका लागि पर्सि दिउँसो छुट्टाछुट्टै स्थानमा विवरण संकलन गरिने कार्यक्रम तय गरिएको छ।
सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण भने वैशाख २८ गते बिहान सम्बन्धित समितिको हलमा संकलन गरिने सचिवालयले स्पष्ट पारेको छ।







