मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो । तर, हाल कार्यालयबाट हुने इन्धनको बिक्रीमा भने गिरावट आएको जनाएको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताए ।

“अहिले डिजेल दैनिक औसतमा तीन हजार ५०० किलोलिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक एक हजारदेखि एक हजार पाँच किलोलिटर औसतमा बिक्री हुँदै आइरहेको छ”, उनले भने, “पेट्रोल र डिजेलको मूल्य बढी भएकाले पनि स्वाभाविक रूपमा बिक्रीमा कमी आएको होला ।”

नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दाबी गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले इन्धनमा भारी मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताए । “विगतमा मासिक २० हजार लिटर इन्धन खर्च गर्ने निर्माण व्यवसायीले अहिले निकै कम मात्रै इन्धन खर्च गरेका छन्”, उनले भने, “इन्धनको मूल्य अत्यधिक बढेकाले पनि निर्माण व्यवसायी काम गर्न पनि गाह्रो मानेका छन् ।”

उनले निर्माण व्यवसायीले पुललगायत संरचनामा भने महँगो मूल्यको इन्धन प्रयोग गर्दै आइरहेको बताए । उनका अनुसार केही समयअघिसम्म प्रतिकिलोग्राम ८० रुपैयाँमा पाइने बिटुमिन अहिले करिब प्रतिकिलोग्राम १५५ भन्दा माथि पुगेको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार अमलेखगन्जमा १७ हजार ७४८ किलोलिटर पेट्रोल र २५ हजार ८४३ किलोलिटर डिजेल भण्डारण गर्ने क्षमता छ । यहाँ रहेको भण्डारणले पेट्रोल सात दिन र डिजेल चार दिन पुग्ने बताइन्छ ।

कार्यालयले भारतीय आयल निगमबाट पाइपलाइनमार्फत पेट्रोल एक चरणमा ११ हजार किलोलिटर र डिजेल भने २४ हजार किलोलिटर ल्याउने गर्दछ ।

कार्यालयका डेपुटी म्यानेजर जवाहरकुमार यादवले भारतबाट अहिले पेट्रोलियम पदार्थको आयात गर्न कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारे । “भारतबाट पेट्रोलियम पदार्थ सहज रूपमा आइरहेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको मूल्य बढेर आए तापनि आयातमा भने समस्या छैन ।”

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिनामा पाँचैथरिका एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ मूल्यपर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आवको सोही महिनामा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँ मूल्य पर्ने पाँचथरिका पेट्रोलियम पदार्थ आयात भएको थियो ।

चालु आवको नौ महिनामा ७८ अर्ब ७९ करोड रुपैयाँ मूल्य बराबरको डिजेल आयात भयो भने ३१ अर्ब आठ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोल आयात भएको थियो ।