महामारीविरुद्ध लडाइमा काठमाडौं पछि पर्यो : परराष्ट्रमन्त्री ज्ञवाली

असोज २६, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताएका छन् । मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा आइतबार उनले यस्तो धारणा राखेका हुन् ।

नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताएका थिए । महामारी नियन्त्रणका हिसाबले अन्य जिल्लाको तुलनामा काठमाडौं पछि परेको उनको भनाइ थियो ।

‘काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर हो । हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेकोछ । तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ’ उनले भने ।

कोरोना नियन्त्रणमा काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीले बताए । उनले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह समेत गरे ।

४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए । ६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने उनको भनाइ थियो ।

‘हाम्रो सामथ्र्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ । त्यसले चुनौती थपेको छ’ मन्त्री ज्ञवालीले भने । कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने पनि उनले बताए ।

‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन’ उनले भने ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्नु हुँदैन ।’ नेपालमा संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता एकदमै जरुरी छ ।’

मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताए । उनले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताए ।

‘हाम्रा अभिभावक, ज्येष्ठ नागरिकको सुरक्षा हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ । हाम्रो सानो लापरवाहीले उहाँहरुको जीवनमा जोखिम पु¥याउँछ’ उनले भने ।