असोज २६, बाग्लुङ ।
नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले सोमबारदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ ।
नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनको भनाइ छ ।
जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
उनले बागलुङ बजारमा दशैं तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएकाले जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह समेत गरे ।
नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको हो । जिल्लामा हालसम्म पाँच सय २५ जनालाई सङ्क्रमण भएको छ ।
ती मध्ये तीन सय ६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या एक सय ५७ छ । (रासस)







