नेयमारलाई समेट्दै ब्राजिलको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने विश्वकपका लागि टोली घोषणा गरेका हुन् ।

हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् ।

उनले १२८ खेलमा ७९ गोल गरेका छन् । तर चोटका कारण उनी २०२३ यता ब्राजिल टोली ‘सेलेसाओ’बाट खेलेका थिएनन् ।

यस पटक टोलीमा परेपछि नेयमारले चौथो विश्वकप खेल्ने भएका छन् । उनले यसअघि २०१४, २०१८ र २०२२ विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।

कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका थिए । नेयमारको नाम घोषणा हुँदा समर्थकहरूले खुसी व्यक्त गर्दै ठूलो ताली बजाएका थिए ।

६६ वर्षीय एन्सेलोटीले भने, ‘हामीले पूरै वर्ष नेयमारको विश्लेषण गर्‍यौं। पछिल्लो समय उनले निरन्तर खेलिरहेका छन् र शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन् भन्ने महसुस गर्‍यौं ।’

एलिसन बेकर पनि टोलीमा परेका छन्, यद्यपि उनी चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए ।

त्यस्तै कासेमिरो र माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), ब्रुनो गिमारेस (न्युक्यासल युनाइटेड), गाब्रिएल मागाल्हाएस (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड) र रायन (बोर्नमाउथ) पनि टोलीमा समावेश भएका छन् ।

तर जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन् । उनले यस सिजन चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए।

अन्य खेलाडीमा भिनिसियस जुनियर (रियल म्याड्रिड), राफिन्हा (बार्सिलोना) तथा एन्ड्रिक पनि छन्, जो लियोनमा लोनमा खेलिरहेका छन् ।

पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’मा जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।