असोज २६, काठमाडौं ।
सरकारले मंसिरदेखि मात्रै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । विदेशी पर्यटकलाई नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन गर्दै मंसिरबाट खोल्ने तयारी सरकारको तयारी छ ।
यसअघि सरकारले कात्तिकमै पर्यटकलाई नेपाल आवागमन खुला गर्ने तयारी गरेको थियो । पर्यटकलाई एक साता क्वारेन्टिनमा राख्ने निर्णयप्रति व्यवसायीले आपत्ति जनाएपछि मापदण्ड परिवर्तन गरेर मंसिरदेखि खोल्ने तयारी भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार क्वारेन्टिन र भिसा प्रक्रिया पुनरावलोकन गर्न सीसीएमसीमा प्रस्ताव पठाइएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले पिसीआर परीक्षणका आधारमा विदेशी पर्यटकलाई नेपाल आउन दिने र क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान ल्याउन लागिएको जानकारी दिए ।
‘सात दिन क्वारेन्टिनमा बस्ने निर्णय अव्यवहारिक थियो । घुम्न आउने पर्यटक होटलको कोठामा बस्नका लागि मात्रै आउँदैनन् । त्यही भएर पिसीआर परीक्षणका आधारमा आउन दिने प्रावधान ल्याउन सरकारसँग भनेका थियौँ,’ उनले भने, ‘सरकारले यो प्रावधान ल्याउनेमा हामी ढुक्क छौँ ।’
विदेशबाट आउने पर्यटकले सम्बन्धित राजदूतावासबाट भिसा आवेदन दिएर नेपाल आउने प्रक्रिया नै झन्झटिलो हुने भन्दै परिवर्तनको माग गरेका थिए । यो निर्णय समेत पुनरावलोकन हुने बताइएको छ ।







