बालेनको ‘से चीज’ प्रभाव: डीडीसीको बिक्री उकालो, दैनिक कारोबार ४ लाख नाघ्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा डीडीसीको चीज खाँदै गरेको तस्वीर सार्वजनिक गरेपछि दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार माग उल्लेख्य रूपमा बढेको छ।

जेठ २ गते शनिबार प्रधानमन्त्री शाहले फेसबुकमा डीडीसीको चीजसँगको तस्वीर पोस्ट गर्दै “से चीज, डीडीसीको चीज” लेखेका थिए। स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त पोस्टपछि बजारमा डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्न थालेको हो।

प्रधानमन्त्रीपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी ले पनि आफ्नै कार्यकक्षमा डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गर्दै स्वदेशी उत्पादनको समर्थन जनाएकी थिइन्।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे का अनुसार पछिल्ला दिनमा डीडीसी उत्पादनको माग ५ देखि ७ प्रतिशतसम्म बढेको छ भने याक चीजको खुद्रा बिक्रीमा मात्रै करिब ३० प्रतिशत वृद्धि भएको छ।

उनले अहिले दूध उत्पादन कम हुने ‘लिन सिजन’ भएकाले मागअनुसार आपूर्ति गर्न चुनौती रहेको बताए। उनका अनुसार पहिले दैनिक २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म कारोबार हुने लैनचौरस्थित डीडीसीको मुख्य बिक्री काउन्टरमा अहिले दैनिक ३ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्मको कारोबार हुन थालेको छ।

डीडीसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको छ। पछिल्लो समय पहिले डीडीसी काउन्टरमा नआउने उपभोक्तासमेत दही, चीज र अन्य उत्पादन खरिद गर्न आउन थालेको संस्थानले जनाएको छ।

हाल डीडीसीले दैनिक करिब ६० हजार लिटर दूध संकलन गरिरहेको छ। बजारमा दूध, दहीजस्ता ताजा सामग्रीको माग उच्च रहे पनि मिल्क पाउडर र बटरको मौज्दात भने २–३ महिनाका लागि पर्याप्त रहेको बताइएको छ।

संस्थानले किसानलाई तिर्न बाँकी करिब ४५ देखि ५० करोड रुपैयाँ बक्यौता क्रमशः भुक्तानी गरिरहेको जनाएको छ। महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक करिब १ करोड रुपैयाँका दरले किसानलाई भुक्तानी भइरहेको छ र भुक्तानी अवधि ४ महिनाबाट घटाएर १ महिनाभित्र सीमित गर्ने योजना बनाइएको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्बु ओली ले भने प्रचारभन्दा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। उनले प्रधानमन्त्रीले चीज खाँदैमा मात्र संस्थान सुधार नहुने उल्लेख गर्दै किसानको बाँकी रकम तिरेर डीडीसीलाई नाफामा लैजानुपर्ने धारणा राखिन्।

यसैबीच मन्त्री चौधरीले डीडीसी सुधारका लागि ९ बुँदे निर्देशन जारी गर्दै दूध संकलन, बिक्री वितरण, डिजिटल अभिलेखीकरण, कर्मचारी व्यवस्थापन तथा संस्थागत सुधारका योजनालाई कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।