संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेमा पहिरोले भेडीगोठ पुर्दा २१८ भेडा पुरिएका छन् ।
शनिबार बिहान आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिएर २१८ वटा भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
दलबहादुरका २५० भेडामध्ये ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् । यस्तै भेडा गोठालाको काम गर्दैआएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको छ ।
घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट ४० किलोमिटर टाढा छ । त्यहाँ पुग्न करिब १० घण्टा पैदल हिँड्नुपर्ने प्रहरीले जनाएको छ । उद्धार टोली घटनास्थलतर्फ गइसकेको छ ।







