काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बौद्ध परम्परामा आधारित ‘बहाल-बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन् ।
नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्टले आज आयोजना गरेको ‘बहाल-बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँभित्र भएका बहाल-बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजागर गरेको बताइन् ।
काठमाडौँभित्र भएका १६ वटा बहिलमध्ये अहिले कति वटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ ।
डंगोलले बहाल-बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुत्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिइन् ।
“हामीले पुनरुत्थान गर्दै-गर्दा त्यहाँको सौन्दर्य, ऐतिहासिक र धार्मिक पक्षलाई पनि ख्याल गर्नुपर्छ”, उनले भनिन्, “त्योसँगै मूर्त-अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनमा पनि हाम्रो ध्यान जान जरुरी छ । बहाल-बहिलको विकास, संरक्षण र पुस्तान्तरणका लागि हामी हातेमालो गरे अघि बढौँ भनेर आग्रह गर्न चाहन्छु ।”
ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले बहाल-बहिलको संस्कृतिको अध्ययन र अनुसन्धान आजको आवश्यकता भएको भन्दै गोष्ठीमा सहभागी विज्ञहरूको उपस्थितिमा ऐतिहासिक सम्पदा, बौद्ध दर्शन र परम्परागत सामाजिक संरचनालाई उजागर गर्ने विषयमा गहन छलफल गरेको जानकारी दिइन् ।
लोप हुन लागेका बही संस्कृति, त्यहाँका पुराना परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्ने, मध्यकाल र त्योभन्दा अगाडिदेखि विकास भएका बौद्ध विहारहरूको ऐतिहासिक पक्ष केलाउँदै नयाँ तथ्यहरू सार्वजनिक गर्ने, र युवा पुस्तालाई आफ्नो रैथाने संस्कृति र गौरवपूर्ण इतिहासप्रति जागरूक बनाउने जस्ता विषयमा केन्द्रित भएर सो क्षेत्रका विज्ञहरुल बताएका छन् ।
बौद्ध कलाअन्तर्गत बहिलभित्र संरक्षित मूर्तिहरू, पौभा चित्रकला, र विशेष गरी गुँला महिनामा गरिने ‘बही द्यो: ब्वयेगु’ परम्परालाई कसरी अन्तरराष्ट्रियस्तरमा चिनाउने भन्ने विषयमा विज्ञहरूले सुझाव दिएका थिए ।







