एजेन्सी – मध्य बंगलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर-पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो । स्थानीय प्रहरी प्रमुख फुआद हुसेनका अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो ।
उनका अनुसार ट्रकले हिचहाइक (यात्राका लागि लिफ्ट लिएका) यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ जाँदै थियो । दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ ।
घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो । आगामी बिहीबार मनाइने उक्त पर्वका लागि धेरै मानिसहरू आफ्नो परिवारसँग भेट्न देशभर यात्रा गरिरहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका थिए । उनीहरू चाडपर्वका लागि आफ्ना परिवारसँग पुनः भेट गर्न यात्रा गरिरहेका थिए ।
प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन च्यानलहरूलाई बताएअनुसार ठूलो आवाज सुनेपछि उनीहरू घटनास्थलमा पुगेका थिए । त्यसपछि फसेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास गरिएको थियो ।
बङ्गलादेशमा यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन् । सत्र करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा ट्राफिक नियमको कमजोर पालना, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण प्रत्येक वर्ष हजारौँ मानिसको ज्यान जाने गरेको अधिकारीहरूले जनाएका छन् ।






