क्यानको महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोल नियुक्त

काठमाडौं । करिब तीन महिनादेखि स्थायी नेतृत्वविहीन बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ महानिर्देशक पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल लाई क्यानको महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म नेतृत्व टुंगो नलाग्दा प्राधिकरणभित्र नीतिगत निर्णय प्रक्रिया प्रभावित बनेको थियो । यस अवधिमा हवाई सुरक्षा, नियामकीय सुधार र संस्थागत पुनर्संरचनासम्बन्धी काममा अपेक्षित गति आउन नसकेको टिप्पणी हुँदै आएको थियो । अन्तर्राष्ट्रिय स्तरमै नेपालको हवाई सुरक्षामाथि चासो बढिरहेका बेला सरकारले स्थायी नेतृत्व चयनलाई प्राथमिकता दिएको रूपमा हेरिएको छ ।

नवनियुक्त महानिर्देशक डंगोल हाल पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए । प्रशासनिक तथा नीतिगत समन्वयमा अनुभव हासिल गरेका उनी खुला प्रतिस्पर्धाबाट छनोट भएका हुन् । महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका थिए ।

यसअघि क्यानको नेतृत्व चयन प्रक्रिया पटक–पटक विवाद, ढिलाइ र अनिश्चिततामा पर्दै आएको थियो । पूर्वमहानिर्देशकको कार्यकाल सकिएपछि प्राधिकरण निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदै आएको थियो । त्यसले संस्थागत निर्णयदेखि दीर्घकालीन योजना कार्यान्वयनसम्म असर पुर्‍याएको बताइँदै आएको थियो ।

अब डंगोलसमक्ष हवाई सुरक्षा मापदण्ड सुदृढ बनाउने, अन्तर्राष्ट्रिय निकायसँग समन्वय प्रभावकारी बनाउने, विमानस्थल पूर्वाधार विस्तारलाई गति दिने तथा नियामक सुधारलाई अघि बढाउने चुनौती रहेको सरोकारवालाहरूको भनाइ छ । विशेषगरी युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई बाहिर ल्याउने विषय उनको कार्यकालको महत्वपूर्ण परीक्षा बन्न सक्ने देखिएको छ ।