काठमाडौँ । प्रा. डा. सुविर सिंह कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को रजिष्ट्रार पदमा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीको जेठ ७ गतेको निर्णयानुसार डा. सिंहलाई रजिष्ट्रारको जिम्मेवारी सुम्पिएको हो ।
नयाँ रजिष्ट्रारको नियुक्तिसँगै रामपुर, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय नेतृत्व तथा विषयगत संकायहरूले पूर्णता पाएका छन् । यसअघि विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. होम बहादुर बस्नेत नियुक्त भइसकेका छन् ।
विश्वविद्यालयको प्रशासनिक तथा प्राज्ञिक सुदृढीकरणका लागि संकाय तथा निर्देशनालयहरूमा पनि नयाँ पदाधिकारी टोली तोकिएको छ । जसअनुसार प्रा. डा. सुन्दर तिवारी कृषि संकायको डीन, डा. शंकरराज बर्सिला पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीन तथा डा. गान्धिव काफ्ले वन विज्ञान संकायको डीनमा नियुक्त भएका छन् ।
यसैगरी विश्वविद्यालय मातहतका प्राविधिक तथा अनुसन्धान केन्द्रहरूलाई गतिशील बनाउन निर्देशकहरूको समेत जिम्मेवारी बाँडफाँड गरिएको छ । डा. उज्जल तिवारी अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशक, डा. हिमाल लुइँटेल जैविक प्रविधि केन्द्रको निर्देशक तथा डा. अनिल कुमार तिवारी पाठ्यक्रम विकास केन्द्रको निर्देशक पदमा नियुक्त भएका छन् ।







