डा. चन्दा श्रेष्ठ नेपाल पशु चिकित्सा परिषद्को रजिस्ट्रारमा नियुक्त

काठमाडौँ। सरकारले उपसचिव डा. चन्दा श्रेष्ठलाई नेपाल पशु चिकित्सा परिषद्को रजिस्ट्रारको अतिरिक्त जिम्मेवारी दिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार डा. श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म परिषद्को रजिस्ट्रारको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी तोकिएको हो। मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयबमोजिम उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

डा. श्रेष्ठले अब आफ्नो नियमित जिम्मेवारीसँगै परिषद्को रजिस्ट्रारको जिम्मेवारीसमेत निर्वाह गर्नेछिन्। यसअघि नेपाल पशु चिकित्सा परिषद्मा वैशाख ११ गतेदेखि अध्यक्ष, रजिस्ट्रारसहित तीन महत्वपूर्ण पद रिक्त रहेका थिए।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था सम्बन्धी अध्यादेश जारी गर्दै योग्यता प्रणालीका आधारमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने नीति लिएको थियो। सोहीअनुसार शून्यबाट नियुक्ति प्रक्रिया सुरु गरी भविष्यमा नियुक्त हुने पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण उत्तरदायी बनाउने उद्देश्य राखिएको बताइएको छ।