काठमाडौं। गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद तथा प्राविधिक समूहतर्फका अधिकृतहरूलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिसअनुसार इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि) तर्फबाट प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
त्यसैगरी, जनपद समूहतर्फका प्रहरी उपरीक्षक अमरेन्द्रबहादुर सिंहलाई पनि प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्राविधिक समूहतर्फ स्वास्थ्य उपसमूह (चिकित्सक) अन्तर्गत नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई समेत एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।






