असोज २७, काठमाडौं ।
कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहे पनि तत्काल सरकार लकडाउन गर्ने मुडमा देखिएको छैन । अन्तरराष्ट्रिय सीमा पनि यथास्थितिमै राख्ने सरकारको निर्णइ छ ।
संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि मात्र लकडाउन गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । शनिबार एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
आइतबार भने परीक्षण नै घटाइएको थियो । आइतबार करिब १२ हजार परीक्षण गरिएकोमा २ हजार १७१ मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १ हजार ४१६ संक्रमित उपत्याकाका मात्रै छन् ।
काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको संख्या कयौँ गुणाले बढ्ने विज्ञहरुको अनुमान छ । राजधानीका अस्पतालमा बिरामीको चाप पनि थामिनसक्नु भइसकेको छ । संक्रमितले बेड नै नपाउने अवस्था सिर्जना भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका केही विज्ञ डाक्टरहरुले कम्तीमा २ हप्ता लकडाउन गर्न आग्रह गरेका थिए । तर, सरकारले लकडाउन गर्ने विषयमा कुनै तयारी नभएको जनाएको छ । दसैँ, तिहारजस्ता ठूला चाडमा लकडाउन गर्दा झन् समस्या थपिने भन्दै सरकार हच्किएको हो ।
‘स्वास्थ्य मन्त्रालयले देशमा संक्रमण तीव्र रुपमा फैलिसकेको र अस्पतालमा बेड पाउनै मुस्किल भएकोले कम्तीमा २ हप्ता देशव्यापी लकडाउन गर्न सुझाव दिएको थियो,’ मन्त्रालयका एक विज्ञले भने, ‘तर, प्रधानमन्त्रीले तत्काल लकडाउन नगर्ने मनस्थिति बनाउनु भएको रहेछ ।’
शनिबार र आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि यसबारे छलफल भएको छ । सीसीएमसीले मन्त्रालयको सहमतिमा लकडाउनको सिफारिस गरेपछि मात्रै मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजान्छ ।
तर, अहिलेसम्म मन्त्रालयमा लकडाउनका विषयमा कुनै फाइल तयार नभएको स्रोतले बताएको छ । ‘तत्काल लकडाउन होलाजस्तो देखिएको छैन । दैनिक पाँच हजारको संख्यामा संक्रमित थपिएपछि मानिसहरू डराएका छन्,’ ती विज्ञले भने, ‘तर, लकडाउन गर्ने निर्णय मन्त्रिपरिषदले नगरी हुँदैन । अहिलेसम्म त्यसको संकेत देखिँदैन ।’
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि यस विषयमा छलफल भएको थियो । सो छलफलमा पनि प्रधानमन्त्री ओलीले लकडाउन नगर्ने मनसाय व्यक्त गरेका थिए ।
‘दसैँतिहारमा लकडाउन नगर्ने, यदि संक्रमितको संख्या नियन्त्रणमा नआए चाडपर्व सकिएपछि लकडाउन गर्नुपर्ने प्रधानमन्त्रीको विचार छ । चाडबाड पनि भयो, फेरि लकडाउन गर्नेबित्तिकै मानिस भड्किए भने गाह्रो हुन्छ,’ ओलीनिकट एक नेताले भने ।
सरकारले चैत ११ गतेदेखि साउन ७ गतेसम्म पहिलो चरण र भदौ ३ गतेदेखि २१ गतेसम्म काठमाडौं उपत्यकामा लकडाउन गरेको थियो ।
आइतबार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिस्थितिका बारेमा विभिन्न ढंगले विश्लेषण भइरहेको बताएका थिए । उनले नागरिकहरु सचेत हुने हो भने अझैपनि स्थितिलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।
‘चाडबाडका बेलामा सबैले सिमित नै भएपनि परिवारसँग बसेर रमाइलो गर्नुपर्ने बेलामा फेरि लकडाउन गर्न सरकारलाई रुचि छैन र त्यो सोचिरहेका पनि छैनौँ । हामी त्यो दिशातिर जान नपरोस भन्ने चाहन्छौँ,’ ज्ञवालीले भनेका थिए, ‘तर, नागरिकको जीवन सरकारको पहिलो प्राथमिकता हो । बारम्बारको अपिलले पनि काम गरेन भने अवश्य पनि केही कडा कदम चाल्नुपर्ने हुनसक्छ । अहिलेसम्म हामी त्यो निष्कर्षमा पुगेका छैनौँ ।’
साथै, सरकारले अन्तर्राष्ट्रिय सीमासम्बन्धी अहिलेकै व्यवस्थालाई कातिक मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
भारतततर्फ आवतजावतका लागि अहिले जस्तै १० वटा नाका मात्र खुला राख्ने र अन्य नाकाहरु बन्द नै गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
अहिले झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला छन् ।







