राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित

काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी अब नेपाली काँग्रेसमा औपचारिक रूपमा समाहित भएको छ। आइतबार पार्टी समायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सो एकीकरण प्रक्रिया टुंगिएको हो।

काठमाडौँको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त अवसरमा पार्टी एकीकरणसम्बन्धी औपचारिक घोषणा समेत गरिएको हो।

सम्झौतामा गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिल झा बीच हस्ताक्षर भएको हो।

अनिल झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट-१ बाट नेपाली काँग्रेसको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो। समायोजनपछि सद्भावना पार्टीका संगठनात्मक संरचना र कार्यकर्ताहरू काँग्रेसको मूल संरचनामा समाहित हुने सहमति भएको जनाइएको छ।