काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ।
अघिल्लो सिजनमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको आरसीबीले यसपटक पनि उपाधि जोगाउँदै नयाँ इतिहास रचेको हो।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा भएको फाइनल खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गरेको थियो।
टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। गुजरातका लागि वासिङ्टन सुन्दरले उत्कृष्ट खेल प्रदर्शन गर्दै अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले सन्तुलित सुरुआत गर्यो। अनुभवी ब्याट्सम्यान विराट कोहलीले जिम्मेवार इनिङ्स खेल्दै अर्धशतक पूरा गरे र टोलीको जितको आधार तयार पारे। आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै खेल जित्यो।
आरसीबीले २०२५ मा आफ्नो पहिलो आईपीएल उपाधि जित्दै १८ वर्षको प्रतीक्षा अन्त्य गरेको थियो। त्यसपछि २०२६ मा लगातार दोस्रो पटक ट्रफी जित्दै टोलीले आफ्नो प्रभुत्व कायम राख्यो। आईपीएल इतिहासमा यो आरसीबीको दोस्रो उपाधि हो।
आरसीबी आईपीएल इतिहासमा पाँचौँ पटक फाइनलमा पुगेको थियो। यसअघि टोलीले २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो। २००९, २०११ र २०१६ मा हार बेहोरे पनि २०२५ मा पहिलो पटक च्याम्पियन बनेको टोलीले २०२६ मा पनि उपाधि जित्दै आफ्नो सुनौलो यात्रा जारी राख्यो।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा वेंकटेश अय्यर र विराट कोहलीले तीव्र सुरुआत दिलाए। दुवैले पहिलो विकेटका लागि ४.३ ओभरमा ६२ रनको साझेदारी गरे। अय्यर १६ बलमा ३२ रन बनाएर आउट भए।
त्यसपछि देवदत्त पडिक्कल १, कप्तान रजत पाटीदार १५ र क्रुणाल पाण्ड्या १ रनमै आउट भए। ६२ रनमा एक विकेट रहेको अवस्थामा आरसीबीले ८९ रनमा तीन विकेट गुमाएको थियो।
विराट कोहली एक छेउमा मजबुत रूपमा टिकिरहे। चौथो विकेटका लागि उनले टिम डेभिडसँग ४१ रनको महत्वपूर्ण साझेदारी गरे। डेभिड २४ रन बनाएर आउट भए।
विराटले २५ बलमा अर्धशतक पूरा गरे, जुन आईपीएलमा उनको सबैभन्दा छिटो अर्धशतक बन्यो। उनले ४२ बलमा ७५ रनको अविजित इनिङ्स खेले, जसमा ३ छक्का र ९ चौका समावेश थिए।
उनले १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै आरसीबीलाई च्याम्पियन बनाए। जितेश शर्माले ११ रनमा अविजित रहँदै साथ दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्स ८ विकेट गुमाएर १५५ रनमा सीमित भयो। कप्तान शुभमन गिल र साई सुदर्शन फाइनलमा चल्न सकेनन्। सुदर्शन १२ र गिल १० रनमा आउट भए।
गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा अविजित ५० रन बनाए। निशान्त सिन्धुले २०, जोस बटलरले १९ र अर्शद खानले १५ रन जोडे।
आरसीबीका बलरहरूले कसीलो बलिङ गर्दै गुजरातलाई खुल्न दिएनन्। रसिख सलाम डारले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलउडले २, भुवनेश्वर कुमारले २ तथा क्रुणाल पाण्ड्याले १ विकेट लिए।







