काठमाडौँ, असार ९ — सरकारले देशभरका २५ प्रकारका अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३(१) बमोजिम सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त व्यवस्था लागू गरिएको हो।
सरकारले सार्वजनिक जीवन, सेवा प्रवाह तथा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रहरूमा सेवा अवरुद्ध हुन नदिन हड्ताल निषेधको निर्णय गरेको जनाएको छ।
हड्ताल निषेध गरिएका सेवामा विमान तथा विमानस्थल सञ्चालन र मर्मतसम्भार, विमानस्थल कार्गो व्यवस्थापन तथा ढुवानी, सरकारी छापाखाना तथा मुद्रण, हातहतियार, गोलाबारुद तथा सैन्य सामग्री उत्पादन तथा वितरण, दूरसञ्चार तथा सुरक्षा सेवा, खानेपानी आपूर्ति तथा वितरण, पर्यटन आवास सेवा (होटल, मोटेल तथा रिसोर्ट), पेट्रोलियम पदार्थको भण्डारण, ढुवानी तथा वितरण लगायत रहेका छन्।
त्यस्तै अस्पताल, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण, सडक तथा पुल निर्माण र व्यवस्थापन, बैंकिङ, बीमा तथा विद्युत् सेवा पनि हड्ताल निषेधको दायरामा परेका छन्।
सरकारले खाद्यान्न, दाल, चामल, नुन र खाने तेलजस्ता अत्यावश्यक वस्तुको आयात, ढुवानी, भण्डारण तथा वितरण सेवामा समेत हड्ताल गर्न नपाइने व्यवस्था गरेको छ।
यसका साथै मौसम तथा बाढी पूर्वानुमान सेवा, मास्क र ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा, पशु चिकित्सा सेवा, राहदानी तथा कन्सुलर सेवा, इन्टरनेट, हुलाक तथा दूरसञ्चार सेवा र पानी, स्थल तथा हवाई मार्गबाट हुने कार्गो ढुवानी सेवा पनि हड्ताल निषेध गरिएका क्षेत्रभित्र समावेश छन्।
सरकारले नागरिकलाई नियमित र निर्बाध सेवा उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय लागू गरिएको जनाएको छ।






