एक महिनामै चारपटक अण्डाको मूल्य वृद्धि, प्रति क्रेट ४५ रुपैयाँसम्म महँगियो

नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा मात्रै अण्डाको फार्म (समर्थन बिक्री) मूल्य चार पटक वृद्धि गरेको छ। जेठ ३ देखि २८ गतेसम्म विभिन्न बैठकमार्फत मूल्य समायोजन गर्दै चितवनलाई आधार मानेर नयाँ फार्म मूल्य निर्धारण गरिएको हो।

सङ्घका अनुसार जेठ महिनाभरमा (एक्सएल) अण्डा सहित ठूला, मिडियम र साना आकारका अण्डाको फार्म मूल्य प्रति क्रेट कुल ४५ रुपैयाँसम्म वृद्धि भएको छ भने सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले बढेको छ।

पहिलो चरणमा जेठ ४ गतेदेखि लागू हुने गरी एक्सएल अण्डाको फार्म मूल्य प्रति क्रेट ५३० रुपैयाँ, ठूला अण्डा ५१५ रुपैयाँ, मिडियम ४८५ रुपैयाँ र सानो अण्डा प्रति पेटी २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो।

त्यसपछि जेठ ११ गते बनेपा र काठमाडौँमा भएको बैठकले पुनः मूल्य संशोधन गर्दै जेठ १२ गतेदेखि लागू हुने गरी एक्सएल ५४५ रुपैयाँ, ठूला ५३० रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा ४०० रुपैयाँ प्रति क्रेट निर्धारण गरेको थियो।

मूल्य वृद्धि क्रम जारी रहँदै जेठ २२ गतेको बैठकपछि जेठ २३ गतेदेखि लागू हुने गरी तेस्रो पटक मूल्य बढाइएको थियो। त्यसअनुसार एक्सएल अण्डा ५६० रुपैयाँ, ठूला ५४५ रुपैयाँ, मिडियम ५१५ रुपैयाँ र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी कायम गरिएको थियो।

त्यस्तै जेठ २८ गतेको बैठकले सोही दिनदेखि लागू हुने गरी चौथो पटक मूल्य संशोधन गर्दै एक्सएल अण्डा ५७५ रुपैयाँ, ठूला ५६० रुपैयाँ, मिडियम ५३० रुपैयाँ र सानो अण्डा ३ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ।