एक महिनामै साढे तीन सय भन्दा बढी उद्योग दर्ता

असोज २८, बाँके ।
लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै तीन सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ देखि भदौ २३ गतेसम्म एक सय ३४ उद्योग दर्ता भएकामा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै तीन सय ५९ उद्योग दर्ता भएका छन् ।

प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो ।

‘पाँच लाख रूपैयाँसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै दर्ता हुने व्यवस्था भएको छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ’, प्रमुख उद्योग अधिकृत थारूले भने, ‘उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।’

रु २० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण तथा क्षमता विकाससम्बन्धी तालिम कार्यक्रम तय गरेको छ । उद्योगीहरुको आवश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन गरिने प्रमुख उद्योग अधिकृत थारूले बताए ।

घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताए । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उनले महासङ्घले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरे । (रासस)