काठमाडौं । नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतको प्रसारण संरचना प्रयोग गर्दै बंगलादेश निर्यात गर्न थालेको हो।
गत वर्ष भएको त्रिपक्षीय समझदारीअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको पाँच महिनाको अवधिमा बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न पाउने व्यवस्था छ। नेपालले २०८१ कात्तिक ३० मा प्राप्त स्वीकृतिअनुसार सन् २०२९ अक्टोबर २ सम्म उक्त परिमाणको विद्युत् निर्यात गर्न सक्नेछ।
प्राधिकरणका अनुसार त्रिशुली जलविद्युत् आयोजनाबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश पठाइनेछ। नेपाल र बंगलादेशबीच प्रत्यक्ष प्रसारण लाइन नजोडिएकाले भारतीय प्रसारण प्रणालीमार्फत विद्युत् व्यापार भइरहेको छ।
बंगलादेशले यस वर्ष थप २० मेगावाट विद्युत् आयात गर्ने इच्छा व्यक्त गरे पनि भारतबाट आवश्यक ट्रान्जिट तथा व्यापारसम्बन्धी स्वीकृति नआएकाले अतिरिक्त विद्युत् निर्यात हुन नसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को सातौँ बैठकले ४० मेगावाटमा थप २० मेगावाट आयात गर्ने विषयमा सहमति जनाएको भए पनि प्रक्रिया अझै टुंगिएको छैन।
गत वर्ष नेपालले पाँच महिनाको अवधिमा करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरेको थियो। प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले बिक्री भएको उक्त विद्युत्बाट नेपालले ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो। डलर विनिमयदर बढेकाले यस वर्ष समान परिमाणको निर्यातबाट करिब १ अर्ब ४३ करोड आम्दानी हुने अनुमान गरिएको छ।
विद्युत् निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको छ। नेपालले हाल भारतमा मात्रै एक हजार १२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ भने बंगलादेशसहित कुल एक हजार १६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त गरिसकेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २० अर्ब ४१ करोड ५६ लाख आम्दानी भएको छ। सोही अवधिमा भारतबाट विद्युत् आयातमा ७ अर्ब ३९ करोड खर्च भएको छ।
साउनदेखि मंसिरसम्मको पाँच महिनामा मात्रै नेपालले दुई हजार ७१४ गिगावाट–आवर विद्युत् निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्लाई बजार उपलब्ध गराउने नेपालको रणनीति प्रभावकारी बन्दै गएको देखाउँछ।
हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ। सरकारले आगामी आर्थिक वर्षमा थप एक हजार ४० मेगावाट उत्पादन थप्ने लक्ष्य राखेको छ। लक्ष्यअनुसार उत्पादन बढेमा कुल जडित क्षमता ५ हजार ५०० मेगावाट नाघ्नेछ।
विद्युत् उत्पादन तीव्र गतिमा बढिरहेका बेला भारत र बंगलादेशजस्ता छिमेकी बजारमा निर्यात विस्तार हुनु नेपालका लागि ऊर्जा व्यापारको नयाँ अवसरका रूपमा हेरिएको छ। बंगलादेशले माग गरेको थप २० मेगावाटका लागि आवश्यक स्वीकृति प्राप्त भएमा आगामी वर्षहरूमा नेपालबाट बंगलादेशतर्फको निर्यात ६० मेगावाटसम्म पुग्ने सम्भावना रहेको छ।







