कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ। विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्।

त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताए।

चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै उनले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गरे।

विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

उनले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति रहेको बताए।

प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराको चर्चा गर्दै शिक्षा नै मानव जीवनको मार्गदर्शक रहेको धारणा राखे।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीलाई केवल रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आग्रह गरे।

विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक सुवीर सिंहका अनुसार स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन्।