डाक्टरले चलाएको कारको ठक्करबाट सुनसरीमा वरिष्ठ सईको मृत्यु

काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ ।

सुनसरी प्रहरी अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए ।

दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ । प्रहरीले कार चालक मोरङको कटहरी गाउँपालिका–३ घर भएका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।