‘कमेडी नाइट्स’ को संवादमा भेटेरिनरी एशोसिएशनको आपत्ति, माफी माग्नुपर्ने भन्दै पठायो पत्र

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ को पछिल्लो एपिसोडमा प्रयोग गरिएको संवादप्रति कडा आपत्ति जनाएको छ

एशोसिएशनले कार्यक्रमका सञ्चालक एवं निर्देशक विशाल भण्डारीलाई एक पत्र लेख्दै कलाकार भरतमणि पौडेलले बोलेको संवादमा आपत्ति जनाएको हो ।

पौडेलले उक्त एपिसोडमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको क्यारिकेचर गरेका थिए । त्यस क्रममा उनले पशु चिकित्सा (भेटेरिनरी) पेशालाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको एसोसिएसनले बताएको छ।

उक्त कार्यक्रममा कलाकार पौडेलले प्रयोग ‘तपाईं कहाँको डाक्टर हो ? तपाईं भेटेरिनरीमा पढेको डाक्टर हो? तपाईं भेटेरिनरीमा पढेको जस्तो छ क्या बुद्धि, तपाईंलाई म त भित्तामा पुर्‍याउँछु’ भन्ने संवादले सम्पूर्ण भेटेरिनरी पेशाकर्मीहरूको आत्मसम्मानमा चोट पुर्‍याएको एशोसिएशनको ठहर छ ।

एशोसिएशनका अध्यक्ष डा. केदार सुवेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘हास्यव्यङ्ग्य र कलाका नाममा आलोचना वा प्रहसन गरिनु स्वाभाविक हो, तर हाँसो मजाकको बहानामा एउटा स्थापित, वैज्ञानिक र मानव तथा पशु स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील पशु चिकित्सा पेशालाई नै समाजमा होच्याउने र कमजोर देखाउने प्रयास गरिनु अत्यन्तै निन्दनीय छ।’

एशोसिएशनले मनोरञ्जनका नाममा यस्तो मर्यादित पेशाको मानमर्दन हुनु कुनै पनि हालतमा न्यायसंगत नहुने स्पष्ट पारेको छ।

पत्रमार्फत एशोसिएशनले उक्त भ्रामक अंशप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्न र आगामी दिनमा यस्ता संवेदनशील विषयहरूमा सचेत रहन आग्रह गरेको छ । यदि यस विषयलाई बेवास्ता गरिएमा आफूहरू कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी समेत एशोसिएशनले दिएको छ।

यस विषयमा कमेडी नाइट्सका सञ्चालक विशाल भण्डारीले आफ्नो कानूनी टिमसँग छलफल गरेर जवाफ दिइने बताएका छन् ।