काठमाडौं। बर्ड फ्लुसम्बन्धी सचेतनामूलक मोबाइल रिङटोनले जनचेतना बढाउनुको सट्टा आम उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको भन्दै नेपाल दाना उद्योग सङ्घले सम्बन्धित निकायसँग पहल गरेको छ। सङ्घका अनुसार उक्त पहलपछि नेपाल टेलिकमले बर्ड फ्लुसम्बन्धी रिङटोन हटाइसकेको छ भने एनसेलले पनि छिट्टै हटाउने जानकारी दिएको छ।
सङ्घले बर्ड फ्लुबारे सही, तथ्यपरक र सन्तुलित सूचना प्रवाह आवश्यक रहेको उल्लेख गर्दै सचेतनामूलक सन्देशको प्रस्तुतीकरणले जनस्वास्थ्यसँगै उद्योगको अवस्थालाई पनि ध्यानमा राख्नुपर्ने जनाएको छ। त्रास फैलाउने शैलीका सन्देशले उपभोक्तामा अनावश्यक भय उत्पन्न हुँदा कुखुराको मासु र अण्डाको उपभोगमा कमी आउन सक्ने र त्यसको प्रत्यक्ष असर पोल्ट्री उद्योगमा पर्ने सङ्घको भनाइ छ।
सङ्घका अनुसार पछिल्ला दिनमा यस्ता सन्देशका कारण पोल्ट्री व्यवसायी, किसान तथा दाना उद्योग आर्थिक रूपमा थप प्रभावित हुने जोखिम बढेको छ। जनस्वास्थ्यको संरक्षणसँगै उद्योगको हितलाई समेत सन्तुलित रूपमा ध्यानमा राखेर सचेतनामूलक अभियान सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको सङ्घले जनाएको छ।







