काठमाडौँ – सिंहदरबार परिसरमा कार्यरत निजामती कर्मचारीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको सेवा इकाई स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो।
उक्त सेवा इकाईमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी सामान्य स्वास्थ्य परीक्षण, रक्त परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा उपलब्ध गराइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीले जनाएका छन्।
निजामती कर्मचारीको स्वास्थ्य परीक्षण तथा उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्नुका साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको सङ्ख्या व्यवस्थापन गर्ने उद्देश्यले सेवा इकाई स्थापना गरिएको सहसचिव अधिकारीले बताए ।
सेवा इकाई सञ्चालनबाट कर्मचारीहरूको स्वास्थ्य प्रवर्द्धन तथा कार्यसम्पादन क्षमतामा सकारात्मक योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।







