कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त, सात विश्वविद्यालयमध्ये सबैभन्दा कम उमेरका

काठमाडौं । सरकारले खुला प्रतिस्पर्धामार्फत सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा वन विश्वविद्यालय (एएफयू) को उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका हुन्।

४५ वर्षीय प्रा. कट्टेल कृषि तथा वन विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा उपकुलपति नियुक्त हुने व्यक्ति बनेका छन्। साथै, यसपटक नियुक्त भएका सातै विश्वविद्यालयका उपकुलपतिमध्ये पनि उनी सबैभन्दा कम उमेरका हुन्।

लमजुङको राइनास नगरपालिका–अलकटार निवासी प्रा. कट्टेलले युरोपबाट उच्च शिक्षा हासिल गरेका छन्। उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन, अनुसन्धान, शैक्षिक नेतृत्व तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव बटुलेका छन्। विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा उनले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

कृषि तथा वन विश्वविद्यालय देशकै एकमात्र कृषि तथा वन विज्ञानमा केन्द्रित प्राविधिक विश्वविद्यालय हो। प्रा. कट्टेलको नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धानको विस्तार तथा नवप्रवर्तनमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

यसैगरी सरकारले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापा, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल तथा राजर्षि जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभलाई उपकुलपतिमा नियुक्त गरेको छ।

सरकारले खुला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालय नेतृत्व छनोट गर्ने नीतिअनुसार उपकुलपतिहरूको नियुक्ति गरेको जनाएको छ। नयाँ नेतृत्वले उच्च शिक्षाको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन र विश्वविद्यालयहरूको संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।