कोभिड–१९ लाई बाबुराम भट्टराईको चुनौती !

सरकारी निर्देशनको अवज्ञा गर्दै पार्टि प्रवेश र छलफलमा व्यस्त नेता

असोज २९, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न सरकारले भीडभाड नगर्न बारम्बार आग्रह गर्दै आएको छ । तर, सरकारी आग्रहलाई लत्याएर पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई कोरोनालाई चुनौती दिँदै हिँडिरहेका छन् ।

पूर्व प्रधानमन्त्री जस्तो मान्छेले नागरिकलाई सचेत बनाउनु र सरकारलाई खबरदारी गर्नुको साट्टो पछिल्लो समय उनी आफै भीडबीच कार्यक्रम गरिरहेका छन् । उनको क्रियाकलाप हेर्दा लाग्छ, नेपालमा कोरोना छैन ।

नेपालमा एकैदिन पाँच हजार संक्रमित भेटिएर नागरिक आत्तिइरहेका बेला भट्टराई भने काठमाडौंबाट गोरखाको पालुङटार हान्निए । त्यहाँ भाषण गर्दै शीर्ष नेताहरुले बुढीगण्डकी परियोजनामा नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाए ।

तर, कोरोना नियन्त्रणको कुरा गरेनन् । बरु सयौँ कार्यकर्ता बटुलेर भेला गर्दै गोरखाकै अरुघाट, छेपेटार लगायतका ठाउँहरू पुगे ।

गोरखाबाट उनी मधेश हान्निएका छन् । पछिल्लो समय मधेशमा हरेक दिन हजारौंको भीड बटुलेर भट्टराई र जसपाका नेताहरू भेला गरेर हिाडिरहेका छन् ।

बुधबार सुनसरीमा ११ बजेदेखि २ बजेसम्म पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर ३ बजेदेखि सप्तरीमा श्रद्धाञ्जलीसभा कार्यक्रम गरे । त्यति मात्र होइन, त्यही दिन साँझ सप्तरीको जिल्ला विकास समन्वय समितिको हलमा जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग उनले छलफल पनि गरे ।

देशमा कोरोना संक्रमण र मृत्युदर दिनानुदिन बढ्दै जाँदा भट्टराई र जसपाका नेताहरू भने देशैभर आफ्ना राजनीतिक कार्यक्रम सञ्चालन गर्दैछन् ।

यता सरकारले भने सभा सम्मेलन गर्न रोक लगाएको छ । कुनै ठाउँमा २५ जनाभन्दा बढीलाई भेला नहुन निर्देशन दिइएको छ ।

तर भट्टराई र उनको पार्टीले सरकारको निर्देशन अवज्ञा गरी कार्यक्रम गरिरहेको छ । असोज १८ गते भट्टराई र उपेन्द्र यादवको उपस्थितिमा एउटा बृहत पार्टी प्रवेश कार्यक्रम सप्तरीमै सम्पन्न भइसकेको थियो ।

त्यसको अघिल्लो दिन उपेन्द्र यादव एउटा श्रद्धाञ्जली कार्यक्रममा पनि सहभागी भएका थिए । सोही पार्टीका कार्यकारिणी सदस्य एवं प्रदेश २ का मन्त्री विजय यादव सिरहाको लहानमा पार्टी प्रवेश गराइरहेका थिए ।

सप्तरीबाट काठमाडौं फर्किने क्रममा असोज १९ गते सिरहाको लहानमा फेरि पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । त्यसमा उपेन्द्र यादवको उपस्थितिमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

उपेन्द्र यादव काठमाडौं फर्केपछि उनको सहभागितामा असोज २० गते पार्टी कार्यालयमा नै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । असोज १७ गते जसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले महोत्तरी क्षेत्र नम्बर २ मा आफ्नो क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरेका थिए, जुन कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो । त्यसमा उनले भाषण दिँदा आफू स्वस्थ्य रहेको भन्दै मुखमा लगाएको मास्क समेत खोलेका थिए ।

असोज २७ गते सुनसरी र सप्तरीमा राजेन्द्र महतो र अनिलकुमार झालगायतका नेताहरुले कार्यक्रम गरिरहेका थिए भने पर्सामा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा.बाबुराम भट्टराई कार्यक्रममा व्यस्त थिए ।

उनीहरूले एउटा अनलाइन र एफएमको उद्घाटन गरेका थिए । त्यसको अघिल्लो दिन सोही ठाउँमा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

सुनसरी र सप्तरीको कार्यक्रममा जानुभन्दा पहिले असोज २४ गते काठमाडौंमै थारु बुद्धिजिवी र पत्रकारहरुसँग छलफल गरेका थिए । र, त्यही दिन उपेन्द्र यादव ट्रेड युनियनको एकता कार्यक्रममा सहभागी भएका थिए । उता बाबुराम भट्टराई गोरखा पुगेर कार्यकर्ता भेला गरेर भाषण ठोकिरहेका थिए ।

प्रफुल्लित जसपा नेताहरू
स्थानीय प्रशासनले संक्रमण नियन्त्रण गर्न भन्दै सार्वजनिक भेला र कार्यक्रम गर्न लगाएको रोकको अवज्ञा गर्दै गरिएको पार्टी प्रवेश कार्यक्रममा भट्टराईका अलावा स्वास्थ्यमन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका उपेन्द्र यादव सहभागी भइरहेका छन् ।

कैयन तस्बीरमा त यादव र भट्टराईले मास्क पनि चिउँडोमुनि सारेको देखिन्छ । सयौँ स्थानीय उपस्थित कार्यक्रममा न सामाजिक दूरी कायम गरिएको देखिन्छ, न त सबैले मास्क नै लगाएका देखिन्छन् । बरु प्रवेश गर्नेको लस्करलाई मञ्चमै बोलाएर स्वागत गरिरहेको देखिन्छ ।

कोरोना संक्रमण फैलिरहेका बेला पार्टी प्रवेश गराएर विजयी भावमा ट्वीट गरेका भट्टराईलाई दर्जनौंले तिखो प्रश्न गरेका छन् ।


जुगल भुर्तेलले बाबुरामको ट्वीटमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘जसपाको देशव्यापी लहर सँगसँगै कोरोनाको कहर पनि नदौडियोस् भन्ने कामना गरेँ । नत्र शिखरमा पुग्दा आफू एक्लै नहोइयोस् । यो शक्ति प्रदर्शन असामयिक, घातक र अविवेकी छ । कमसेकम तपाईंबाट यो अपेक्षा थिएन ।’

अर्का ट्वीटर प्रयोगकर्ता कुशल कार्कीले व्यंग्य भावमा लेखेका छन्, ‘कमसेकम कोरोनाको त डर मान्नुस् यार । यो भीडलाई बचाउन सकियो भने न भोट बचाउन सकिन्छ ।’

कार्यक्रम नगर्नु भन्दा मान्दैनन् : स्थानीय प्रशासन
भट्टराईले जस्तो रवाफ देखाउने आँट गर्दैनन् आम नागरिक । थोरै संख्यामा भेला हुँदा बित्तिकै स्थानीय प्रशासन कारवाहीमा उत्रन्छ ।

तर, कोरोनालाई चुनौती दिइरहेका डा.भट्टराईलाई कसले गर्ने कारबाही ? स्थानीय प्रशसन निरीह छ र भन्छ, ‘कार्यक्रम नगर्नुस् भन्दा मान्दैनन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औपचारिक रुपमा सभा सम्मेलनमा रोक लगाइएको बताए । ‘कार्यक्रम नगर्नु भन्दाभन्दै पनि मान्नु भएन,’ तामाङले भने, ‘कुनै पनि हालतमा सभा सम्मेलन गर्न नदिन प्रहरीलाई निर्देशन दिइएको हो । त्यसपछि के भयो मलाई जानकारी भएन ।’

पार्टी प्रवेश कार्यक्रमका लागि निर्माण गरिएको पण्डाल बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । नेताहरुको सुरक्षा र स्कर्टिङका लागि सुरक्षाकर्मी परिचालन भएका थिए ।

‘सामान्ती राजनीतिक संस्कार महामारीमा पनि देखियो ’


राजनीतिशास्त्री एवं काठमाडौं विश्वविद्यालयका प्राध्यापक उद्धव प्याकुरेल सामान्ती राजनीतिक संस्कार कोरोना महामारीमा पनि देखिएको बताउँछन् ।
‘लोकतन्त्र भए पनि सामान्ती राजनीतिक चरित्रझैँ हुल बाँधेरै हिँड्नुपर्ने, तामझाम गरेर भेला पार्नुपर्ने राजनीतिक संस्कार कोरोना महामारीमा पनि देखियो । यो अनावश्यक प्रतिस्पर्धा हो,’ उनले भने ।

प्याकुरेलले शक्तिको नजिक रहेको एउटा तप्काले कोरोना महामारीमा सधैँ छुट पाउँदै आएको र त्यस्तो छुट नेकपासम्बद्ध नेता कार्यकर्ताले बढी पाइरहेको टिप्पणी गरे ।

जसरी सत्तासीन र अन्य दलका नेताहरु हुल बाँधेर हिँड्ने र कार्यकर्ता प्रवेशका नाममा भीड जम्मा गर्ने काम गरिरहेका छन्, त्यो राजनीतिक संस्कारयुक्त काम नभएको उनले बताए ।

कोरोना महामारीका कारण अर्थ व्यवस्था भोलिका दिनमा के हुने हो ? राजनीतिक भविष्य नै कस्तो हुने हो भन्नेजस्ता गम्भीर प्रश्नहरु खडा भइरहेका बेला दलका नेता भने अनेकतिर ओहोरदोहोर गर्ने काम अचम्मलाग्दो विषय भएको उनको बुझाइ छ ।

नेकपाका नेता एवं पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा कोरोना महामारीमा दलका नेताहरुले सुझबुझ देखाउन नसकेको टिप्पणी गर्छन् ।

उनले महामारीका बेला भल नै छोप्न खोजेझैँ पार्टी प्रवेश गराउने कामलाई अनुशासनहीन नभने पनि समयोचित नभएको र यस्तो कामलाई जनताले मन नपराउने बताए । उनले भने, ‘पार्टीको नियमित काम त जहिले गरे पनि हुन्छ । अहिले त जनताको दुःखमा साथ दिने बेला हो । तर त्यस्तो काम दलका नेताबाट हुन सकेन ।’

उनले महामारीको बेला जिम्मेवार राजनीतिको अभ्यास हुनुपर्नेमा त्यस्तो नभएको भन्दै नेकपाको संसदीय समिति र केन्द्रीय कमिटीमा महामारीबारे छलफल हुन नसकेको र जनचेतना जगाउने काममा नेताहरुको भूमिका प्रखर देखिन नसकेको स्वीकारे । ‘हामीबाटै महामारीको अल्पविश्लेषण भयो कि भन्ने लाग्छ,’ उनले भने ।