कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारीलाई सेवाबाट हटाएकी छिन्। नार्कको अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले दुई कर्मचारीबाट बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेको उनको सचिवालयले जनाएको छ।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियमबमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको मन्त्री चौधरीले स्पष्ट पारेकी छिन्।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, ललितपुरमा कार्यरत वैज्ञानिक एस– १ नमिता भट्टराई रहेका छन्।
परिषद्ले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो। तर, तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट हटाइएको हो।
नार्कबाट सुरुवात गरिएको यो काम मन्त्रालयअन्तर्गतका विभाग, केन्द्रलगायतका निकायहरूमा पनि लागू हुने बताइएको छ।






