असोज २९, गुल्मी ।
जिल्लाको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
तर यस वर्ष भने रसायनिक मल राख्न नपाउँदा र धानमा विभिन्न प्रकारका रोगको आक्रमणले उत्पादन सोचेजस्ता नहुने उनको अनुमान छ । उनले धानको बोटको टुप्पोमा सानासाना किरा लागेको, जरा काटेको, गुबोभित्र किरा लागेको तथा बाला सुक्नेजस्ता समस्या रहेको बताए ।
धानको उत्पादन कम हुँदा गाईभैंसीलाई खुवाउने दानासमेत बढी किन्नुपर्ने उनले गुनासो गरे । उनले साउनको दोस्रो साता जडन जातको धान रोपेको बताए ।
यस्तै सोही स्थानका स्थानीय किसान भिमलाल पाण्डे पनि यो वर्ष धानको उत्पादन घट्नेमा चिन्तित छन् । ‘टारी खेतको मुख्य उत्पादन नै मकै र धान हो । मकै पनि यो बर्ष खासै राम्रो भएन’, उनले भने, ‘धानको आशामा चित्त बुझाएका थियौँ । आशा निराशामा परिणत हुने भयो ।’
दर्लामचौरको घम्मु फाँटमा मात्रै ४७ परिवारको दुई सय पाँच रोपनी जग्गा छ । पाण्डेले सबैको खेतमा एउटै प्रकारको समस्या देखिएकोले सिङ्गो फाँटको उत्पादनमा कमी आउने बताए ।
‘यस फाँटमा सामान्यतया एक रोपनी खेतमा चारमुरीसम्म धानको उत्पादन हुन्थ्यो’, उनले थपे, ‘विभिन्न समस्याले गर्दा अहिले प्रतिरोपनी एक मुरीमात्रै धान हुने सम्भावना छ ।’
विषादीको सिफारिस
गुल्मीमा आर्थिक वर्ष २०७६/७७ मा कूल ६ सय मेट्रिक टन युरिया मलको माग भएकोमा पाँच सय ४३ मेट्रिक टन मात्र आपूर्ति भएको थियो । यस्तै एक सय ७५ मेट्रिक टन डिएपी मलको माग भएकोमा एक सय ४३ मेट्रिक टन मात्र आयात भएको थियो ।
त्यसरी आएको मल पनि समयमा नआएको किसान गुनासो गर्छन् । कृषि ज्ञान केन्द्र पनि ढिलाइले समस्या भएको स्वीकार गर्छ ।
केन्द्रका कृषि प्रसार अधिकृत टिकाराम न्यौपानेले विभिन्न विषादीको प्रयोगद्वारा अहिलेको समस्या समाधान हुनसक्ने बताउँछन् । अहिले धानको जरामा लियान्पोट नामको व्याक्टोरिया र धानको गुबामा बोर नामको किराले आक्रमण गरेको कारण धान खेतीमा समस्या देखिएको उनले बताए ।
ब्याक्टोरियाका लागि ‘एग्रीमाइसिन’ र बोर किराको लागि ‘कार्बोसिउरान’ नामको बिषादी केन्द्रले सिफारिस गरेको उनको भनाइ छ । यसका लागि कार्यालयले आकस्मिक बाली संरक्षण कार्यक्रममार्फत विषादी उपलब्ध गराउन सक्ने तर त्यसका लागि किसानले कार्यालयमा सम्पर्क गनुपर्ने उनले जानकारी दिए ।
किसानका उक्त समस्या स्थानीय तहको कृषि शाखाबाट समाधान हुनसक्ने उनले बताए ।
१० हजार हेक्टरमा धान खेती
जिल्लामा धान खेतीका लागि कूल क्षेत्रफल १० हजार चार सय ४० हेक्टर हो । जसमध्ये नौ सय ८२ हेक्टरमा चैते र नौ हजार चार सय ८५ हेक्टर क्षेत्रफलमा बर्खे धानको खेती हुन्छ ।
यो वर्ष स्थानीय तहको बाँझो जग्गा खन्ने अभियान तथा लकडाउनका कारण थप जग्गामा समेत धान खेती गरिएको अनुमान छ । तर, त्यसको आधिकारीक तथ्याङ्क भने छैन । चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ्ग, दम्का, सोता, आपचौर, वामीलगायत क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ ।
ती क्षेत्रहरुमा चन्दिना, सीएच ४५९, खुमल ४, खुमल ६, मकवानपुर १, हाइब्रिट युएस् ३१२, उपज, क्रान्तीलगायत उन्नत जातका धान लगाईने गरिन्छ । जिल्लामा हशंराज, आपझेत्ते, मार्सि काठेजिनुवा, जडन, जेठो बुढोलगायत स्थानीय जातका पनि धान लगाईने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको धान उत्पादनको कुल क्षेत्रफलमध्ये चैते धान खेती हुने क्षेत्रफल चार सय ८० हेक्टर र वर्षे धान उत्पादन हुने क्षेत्रफल नौ हजार नौ सय ६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सनबहादुर रानाले जानकारी दिए ।
जिल्लामा आव २०७५\७६ मा २७ हजार नौ सय ८९ तथा २०७६\७७ मा २८ हजार ७२३.७५ मेक्ट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । (रासस)







