भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले राज्य विरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ।
उनीहरूसँगै, पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्।
त्यसैगरी, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ।
उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो।
त्यसैगरी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषि ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसूरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य अभियोगपत्र २०८० जेठ १० गते (२४ मे २०२३) काठमाडौं जिल्ला अदालतमा दायर गरिएको थियो।
मुद्दा दायर हुँदा तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वमा गृह मन्त्रालय रहेको थियो। श्रेष्ठले उक्त प्रकरणमा अनुसन्धान निष्पक्ष, स्वतन्त्र र दबाबरहित रूपमा अघि बढाइने तथा दोषीलाई कानुनको दायरामा ल्याइने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए। पछि उनले प्रहरीले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर मुद्दा अदालतमा पेश गरेको र दोषी कोही पनि नउम्किने बताएका थिए।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरिएको आरोपमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा ठगी, किर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरलगायतका आरोप समावेश गरिएको थियो।







