नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि बढाउन नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको फैसलाको स्वागत गर्दै घटनासँग सम्बन्धित अन्य शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धानलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा विस्तृत अनुसन्धान गरी मुद्दा दर्ता गरेको स्मरण गरेका छन्। अदालतको पछिल्लो फैसलाले मुलुकको प्रतिष्ठामाथि गम्भीर आघात पुगेको यस घटनालाई कानुनी निष्कर्षतर्फ पुर्‍याउन महत्वपूर्ण योगदान दिएको उनले बताएका छन्।

श्रेष्ठका अनुसार अनुसन्धानबाट प्रमाणित भएका व्यक्तिविरुद्ध मात्रै अभियोग दर्ता गरिएको थियो। तर, केही अन्य व्यक्तिहरू पनि शंकाको दायरामा रहेकाले उनीहरूमाथिको अनुसन्धान खुला राखिएको उनले उल्लेख गरेका छन्।

कानुनी समयसीमाका कारण प्रारम्भिक चरणमै प्रमाणित भएका आरोपितविरुद्ध मात्र मुद्दा दायर गर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले अब बाँकी पक्षबारे पनि निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका अधिकांश आरोपितलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो।