काठमाडौँ । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले शानदार प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ । समूह ‘डी’ को विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
मङ्गलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३० रन बनाउन सक्यो ।
हङकङको इनिङ्समा वोङ विङले सर्वाधिक १३ रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चिएर ४ विकेट लिइन् । यस्तै, मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्नेहा महराले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ्स खेलिन् । सावित्री धामीले ५२ रनको अर्धशतकीय योगदान दिइन् भने अलिशा यादव २३ रनमा अविजित रहिन् ।
नेपालले यू–१९ स्तरमा बनाएको यो दोस्रो ठूलो योगफल हो । साथै, जारी प्रतियोगिताकै सर्वाधिक स्कोर पनि हो । यसअघि सन् २०२५ को महिला यू–१९ टी–२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रन बनाएको थियो ।
हङकङका लागि निमरा अरबले २ विकेट लिइन् भने वोङ विङ र आरुज फातिमाले समान १–१ विकेट लिए ।
यसअघि प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा कतारलाई १०५ रनले र दोस्रो खेलमा सिङ्गापुरलाई १५१ रनले पराजित गरेको थियो । लगातार तीन जितसँगै नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।






