प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

काठमाडौँ।  राष्ट्रिय राजनीतिमा लगातार चर्चाको केन्द्रमा रहँदै आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मंगलबार अचानक प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पुगेका छन्।

सदनको कारबाही चलिरहेकै अवस्थामा प्रधानमन्त्री शाह संसद भवन छिरेका हुन्। विशेष गरी सांसदहरूले ‘शून्य समय’ र ‘विशेष समय’ मा समसामयिक तथा जनसरोकारका मुद्दाहरूमा आफ्ना भनाइ र आक्रोश राखिरहेका बेला प्रधानमन्त्री शाह संसद् बैठकमा प्रवेश गरेका थिए।

सदनमा पछिल्लो समय प्रतिपक्षी दलहरूले सरकारका नीति, सुकुमवासी व्यवस्थापन र सीमासम्बन्धी विषयलाई लिएर प्रधानमन्त्रीमाथि प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री शाह बैठकमा उपस्थित भए पनि आजै उनले संसदमा उठेका प्रश्न र विषयहरूको जवाफ दिनेछन् या दिँदैनन् भन्नेबारे भने अझै यकिन भइसकेको छैन।

प्रधानमन्त्रीको यो अचानकको उपस्थिति र संसद्‌प्रतिको सक्रियतालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि सदन पुगेका छन्।