१०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपका लागि नेपाली खेलाडीलाई भव्य बिदाइ, स्वर्ण जित्ने शुभकामना

काठमाडौं – बङ्गलादेशमा आगामी १६ र १७ गते आयोजना हुने १० औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङ लाई दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा बिदाइ गरिएको छ।

सोतोकान परिवारले खेलाडीद्वयलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै राष्ट्रको गौरव बढाउने विश्वास व्यक्त गरेको थियो।

अजय बलोन तामाङ नेपाली कराँतेका सफल खेलाडीमध्ये एक हुन्। उनले सातौँ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक तथा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाइसकेका छन्। यसपटक पनि अजयसँगै सुजन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिष्ठा उँचो बनाउने अपेक्षा गरिएको छ।

बिदाइ कार्यक्रममा सोतोकानका दिलेन्द्र बैधे, बुद्धराज नेगी, धिर्जमान तामाङ, ऋषि लामा, प्रकाश श्रेष्ठ, धिरज उपरकोटी, रामनारायण, बिकबहादुर थामी, महमद आलम, पञ्च लामा, प्रेम सिंह, दीपक बरालीलगायत प्रशिक्षक, पदाधिकारी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सोतोकान केन्द्रीय टिमका वरिष्ठ गुरु धिर्जमान तामाङले खेलाडीहरूलाई अनुशासन, मेहनत र जिम्मेवारीका साथ राष्ट्रका लागि खेल्न प्रेरित गरे। उनले खेलप्रतिको समर्पण, अनुशासन र नियमको पालना नै सफलताको आधार भएको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी, सोतोकान केन्द्रीय टिमका धिरज उपरकोटी ले अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूले आफ्नै खर्चमा यात्रा, बसोबास तथा प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने अवस्था दुःखद रहेको बताए। उनले दुई पटक दक्षिण एसियाली स्तरमा पदक जितिसकेका खेलाडीले समेत राज्यबाट पर्याप्त सहयोग नपाउनु गम्भीर विषय भएको उल्लेख गर्दै खेल क्षेत्रप्रति सरकारले आवश्यक लगानी, संरक्षण र प्रोत्साहन बढाउनुपर्ने धारणा राखे।

उनले भने, राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई राज्यले आवश्यक लगानी, संरक्षण र प्रोत्साहन गर्नुपर्छ। खेलाडीहरू आफ्नै खर्चमा विदेश गएर देशको झण्डा उचाल्न बाध्य हुनु उचित होइन। खेल क्षेत्रलाई प्राथमिकतामा राखी सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णले अजय बलोन तामाङ, सुजन तामाङ तथा नेपाली टोलीलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा उच्च राख्न र स्वर्णिम सफलता हासिल गर्न हार्दिक शुभकामना व्यक्त गरेका थिए।