सचिवहरूको सरुवा गर्ने मन्त्रीपरिषद्को निर्णय

असोज ३०, काठमाडौं ।
मन्त्री फेरदबल पछि बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवको सरुव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले केही सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ । आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई भने सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । सहरी विकास मन्त्रालयका नयाँ मन्त्रीले पनि बिहीबारै कार्यभार सम्हालेका हुन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा भने काठमाडौँ महानगरपालिकामा कार्यरत एकनारायण अर्याललाई ल्याइएको छ । सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ । श्रेष्ठ यस अघि ऊर्जा मन्त्रालयमा थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालय लगिएको छ । उक्त मन्त्रालयमा सचिवको जिम्मेवारी यादव कोइरालालाई दिइएको छ । उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।

सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । उनी यसअघि खेलकुद मन्त्रालयमा थिए । प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने र उपराष्ट्रपतिको कार्यालयका खगराज बरालको जिम्मेवारी साटफेर गरिएको छ ।