फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट ५० रुपैयाँसम्म महँगियो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनाको सुरुआतसँगै अन्डाको फार्म मूल्य दोस्रो पटक वृद्धि गरेको छ। चार दिनको अन्तरमा गरिएको मूल्य समायोजनपछि विभिन्न आकारका अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँसम्म बढाइएको हो।

संघका अनुसार देशभरका अन्डा उत्पादक किसानको सुझाव, राय तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। यसअघि साउन १ गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी मूल्य बढाएको थियो। त्यसको चार दिनपछि साउन ५ गते बसेको अर्को बैठकले पुनः मूल्य समायोजन गर्दै साउन ६ गतेदेखि लागू हुने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

संघले सार्वजनिक गरेको संशोधित मूल्यअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ४६५ रुपैयाँबाट बढेर ५१५ रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो आकारको अन्डाको मूल्य ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ तथा मिडियम आकारको अन्डाको मूल्य ४२० रुपैयाँबाट बढाएर ४७० रुपैयाँ कायम गरिएको छ।

सानो आकारको अन्डाको मूल्यमा प्रतिपेटी २०० रुपैयाँ वृद्धि गर्दै २ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।

नयाँ मूल्य लागू भएसँगै उपभोक्ताले अन्डा प्रतिगोटा २५ रुपैयाँमा खरिद गर्नुपर्नेछ।

संघका सचिव मदन पोखरेलले उत्पादन लागत वृद्धि र बजारको वर्तमान अवस्थालाई ध्यानमा राख्दै किसानको हित संरक्षणका लागि समर्थन मूल्य पुनर्निर्धारण गरिएको बताएका छन्।