काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी गराउँदै राष्ट्रिय एकता, सहकार्य र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहने सन्देश दिएका छन्।
स्वदेश फर्किने तयारीमा रहेका देउवाले जारी गरेको सन्देशमा अहिले देशलाई प्रतिशोधको राजनीति नभई राष्ट्रिय सहकार्य र आपसी विश्वासको आवश्यकता रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “प्रतिशोध होइन, सहकार्य चाहिएको छ। इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा प्रविधि र ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ।”
देउवाले प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माण र साझा भविष्यलाई साझा संकल्प बनाउनुपर्नेमा जोड दिएका छन्। यही विश्वासका साथ आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार वर्तमान परिस्थितिले सबैलाई अझ व्यापक दृष्टिकोण, गहिरो सहकार्य र दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ।
“आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ,” देउवाले सन्देशमा भनेका छन्। साथै, “सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,” उनले उल्लेख गरेका छन्।
देउवा गत १३ फागुन २०८२ मा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका उनी उपचार सम्पन्न गरेर अब स्वदेश फर्कन लागेका हुन्।









