ब्यूरोको ऐतिहासिक सफलता : लागुऔषध ब्युरोद्वारा एक वर्षमा १७ सय पक्राउ, ८५ करोडको लागुऔषध बरामद 


काठमाडौँ। लागुऔषध नियन्त्रण ब्यूरो (कोटेश्वर) ले गत आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध तस्करी र कारोबारविरुद्ध अभूतपूर्व सफलता हासिल गरेको छ। ब्यूरोले एकै वर्षमा करिब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गर्दै ठूला अन्तर्राष्ट्रिय संगठित गिरोहलाई ध्वस्त पारेको हो।

ब्यूरोका अनुसार बितेको वर्ष ९९३ वटा मुद्दा दर्ता गरी १ हजार ७ सय ६८ जनालाई पक्राउ गरिएको छ। यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५.५५ प्रतिशतले बढी हो।

अन्तर्राष्ट्रिय गिरोहमाथि कडा प्रहार
लागुऔषधको अन्तरदेशीय सञ्जाल तोड्न ब्यूरोले विशेष अपरेसन चलाएको थियो। यस क्रममा नेपाललाई ट्रान्जिट र गन्तव्य बनाउन खोज्ने ब्राजिल, कोलम्बिया, भारत, सेनेगल र इथियोपिया लगायतका देशका नागरिकहरूसहित दर्जनौँ संगठित तस्करहरू हतियार र नगदका साथ पक्राउ परेका छन्।

केही जोखिमपूर्ण अपरेसनका क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै आक्रमण गर्ने र भागन खोज्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर तथा नियन्त्रणात्मक गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

के-के भए बरामद?

कोकिन: १३.३४७ केजी

खैरो हेरोइन: २३.१४१ केजी

ह्वाइट हेरोइन: ७.८ केजी

अफिम: ४३ केजी

चरेस: ४९१.५ केजी

थाई गाँजा: २०४ केजी | गाँजा: १,६०३ केजी

अन्य: एलएसडी र ३२ लिटर कोडिन

नियन्त्रित औषधि/फार्मास्युटिकल:

ट्रामाडोल क्याप्सुल: ५ लाख ४१ हजार ९२७

नाइट्राभेट ट्याब्लेट: ३४ हजार ४४५

एम्पुल: ६६ हजार १०२ | एम्फेटामाइन: ५५० ग्राम

नगद, हतियार तथा सवारी साधन:

नगद: रु. १ करोड ९३ लाख ५४ हजार ६९४

हतियार: ५ थान पेस्तोल र २९ राउण्ड गोली

सवारी साधन: १५ वटा चारपाङ्ग्रे र ८३ वटा दुईपाङ्ग्रे

अन्य: ७५७ थान मोबाइल र ११५ थान डिजिटल तराजु

न्यायिक कारबाही र सचेतना अभियान
अदालतमा अभियोगसहित पेस गरिएका १ हजार ३२५ जना प्रतिवादीमध्ये ८४ प्रतिशत (१ हजार ११३ जना) लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ, जसले ब्यूरोको फितलो अनुसन्धान होइन, बलियो कानुनी पकडलाई पुष्टि गर्छ।

कारबाहीसँगै रोकथामलाई पनि प्राथमिकतामा राख्दै ब्यूरोले वर्षभरिमा १९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ हजार ८११ जनालाई लागुऔषधको कुलत र कानुनबारे सचेत गराएको छ।