रुकुम पश्चिमको घटनाबारे संसदीय छानविन समिति गठन हुने

२३ जेठ, काठमाडौं । रुकुम पश्चिमको घटनाबारे संसदीय छानविन समिति गठन हुने भएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अघिल्ला बैठक र शुक्रबारको बैठकमा समेत कुरा उठेको भन्दै उक्त घटनाबारे अध्ययन तथा अनुगमन गरी पतिवेदन पेश गर्ने गरी संसदमा रहेका दलहरुसँग छलफल गरी संसदीय विशेष समिति गठन गरिने बताए ।

संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले शुक्रबार बैठकको सुरुमै बैठक अवरोध गरेको थियो । त्यसपछि कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् ।

त्यसपछि सभामुखले रुलिङ गर्दै संसदीय छानविन समिति गठन हुने बताएका हुन् ।

यहि जेठ १० गते शनिबार जाजरकोट गएका युवालाई रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको थियो ।