काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक सुदृढीकरण, आन्दोलन विस्तार र पार्टी निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा पार्टीलाई बलियो बनाउन सकेमा त्यसले समग्र देश र कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले मधेशमा संगठन कमजोर रहेमा पार्टी र आन्दोलनले ठूलो चुनौती सामना गर्नुपर्ने जोखिमसमेत औंल्याए।
प्रचण्डले पार्टीभित्र कार्य विभाजन र जिम्मेवारी बाँडफाँडका क्रममा केही असन्तुलन भएको स्वीकार गर्दै नेता तथा कार्यकर्ताहरूका गुनासा र असन्तुष्टिलाई सम्बोधन गरिने बताए।
उनले कार्य विभाजनको पुनरावलोकन गरी आवश्यक सुधार गर्ने र सबैलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे।







