२३ जेठ, काठमाडौं । समाजवादी पार्टीका सांसदहरुले सांसद सरिता गिरीलाई ‘भारतीय चेली’ भनिएको भन्दै आपत्ति जनाएका छन् ।
गत सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा नेकपाका सांसद गंगा चौधरी सद्गौवाले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी थिइन् ।
उनले सांसद गिरीले भारतसँग छलफल नगरी नेपालले नयाँ नक्सा सार्वजनिक गर्न नहुने भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेकी थिइन् । त्यसक्रममा उनले नेपालमाथि भारतको दादागिरी र नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न भनेकी थिइन ।
शुक्रबारको बैठकमा सभामुखसँग समय लिएर स्वयम सरिता गिरीले चौधरीको भनाईप्रति आपत्ति प्रकट गरिन् ।
आफुले छिमेकी भारत र तीनसँग समन्वय गरेर मात्रै नयाँ नक्सा सार्वजनिक गर्नु उपयुक्त हुने भनेर अभिव्यक्ति दिएको तर, त्यसको गलत अर्थ लगाएर आफुमाथि अनावश्यक रुपमा तुच्छ शब्दको प्रयोग गरिएको बताइन् ।
सांसद चौधरीको भनाईलाई तुच्छ शब्दको संज्ञा दिँदै उनले संसदको रेकर्डबाट हटाउन माग गरेकी छिन । आफुलाई चीनको इशारामा भारतीय चेली भनिएको त होइन भन्दै प्रश्न समेत गरिन् । उनले आफु नेपालको कानुन अनुसार सांसद भएर संसदमा आएको समेत बताइन् ।
समाजवादीकी अर्की सांसद अमृतादेवी अग्रहरीले सांसद चौधरीको भनाइप्रति आपत्ति प्रकट गरिन् ।
उनले आफुहरुले हिन्दीमै सपथ लिएको र सजिलोका लागि हिन्दीमा बोल्ने गरेको बताइन् । हिन्दी बोल्दैमा भारतीय नहुने र अग्रेजी बोल्दैमा वेलायती नहुने उनको भनाई छ ।







